दाङ तुलसीपुरको होटलमा युवक मृत फेला परेका छन्।  तुलसीपुर उपमहानगरपालिका–७ का २२ वर्षीय विशाल सुवेदी तुलसीपुर–५ बसपार्कस्थित न्यू सागर गेष्ट हाउसको कोठामा भित्र मृत फेला परेका हुन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार भदौ २४ गते विशाल श्रीमती एञ्जिला भण्डारीका साथमा बस्दै आएका थिए।  बुधबार बेलुकी साढे ४ बजेतिर श्रीमती एञ्जिला होटलको बाल्कोनीमा निस्किएको मौका छोपेर विशालले झुण्डिएर आत्महत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए। 

एञ्जिलासँग विशालले गत वैशाखमा मात्रै बिहे गरेका थिए। उनीहरूको जोडीलाई नजिकका आफन्त स्वीकार गरेका थिएनन्। विशालकी आमाको मृत्यु भइसकेको र बुवा अर्को श्रीमतीका साथ छिमेकी देश भारतमा बस्दै आएको कुरा खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। 

त्यसैले विशाल र एञ्जिला यो बीचमा भारतमा आउजाउ गरिरहेका थिए। मजदुरी गरी आफ्नो खर्च जोहो गरी घर आउजाउ गरे पनि आफन्तले स्वीकार नगरेपछि उनीहरू तनावमा रहेको कुरा खुलेको प्रहरी अधिकारीहरू बताउँछन्। खासगरी फुपाजूले उनीहरूलाई स्वीकार्न तयार नभएपछि उनीहरू दाङ आउँदा बाहिर बस्ने गर्थे।

पछिल्लो समय श्रीमानश्रीमती दुई दिनअघि मात्रै होटलमा बस्न गएका थिए। तर, श्रीमती बाल्कोनीमा निस्केको बेला श्रीमानले आत्महत्या गरेको प्रहरी बताउँछ।