दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुःखी आत्मा’को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

सुटिङ सुरुसँगै ‘दुःखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्वीर सार्वजनिक भएका छन् । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर बाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायतले अभिनय गर्दैछन् ।

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने निर्देशक लामाले जानकारी दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क क्रियसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसल(कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको नृत्य रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् ।