घटस्थापना नजिकिँदै छ । तर दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे सरकारी निकाय र यातायात व्यवसायी मौन छन् । अहिलेसम्म कहिलेबाट बुकिङ खुला गर्ने भन्ने विषयमा व्यवसायी र सरकारी निकायबीच छलफलसमेत हुन सकेको छैन ।
केही यातायात व्यवसायी समितिले भने अग्रिम बुकिङ खुलाइसकेका छन् । गत वर्ष घटस्थापनाको ६ दिनअघि अग्रिम बुकिङ खुलाइएको थियो । त्यसका लागि व्यवसायी र यातायात व्यवस्था विभागबीच पहिल्यै छलफल गरेर निर्णय गरिएको थियो । समय भएकाले यसबारे छलफल गर्न नहतारिएको व्यवसायी बताउँछन् ।
पूर्व अरनिको यातायात प्रालिले यही भदौ २० बाटै अग्रिम बुकिङ खुलाइसकेको छ । अरनिको यातायात चल्ने जिल्लामा जाने यात्रुका लागि बुकिङ खुला गरिएको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जनाए । ‘अहिले अनलाइन सुविधा छैन, काउन्टरमै पुगेर यात्रुले अग्रिम बुकिङ गरिरहेका छन्,’ उनले भने, ‘यात्रुलाई चाडबाडमा टिकट नपाएर घर जान नपाइएला कि भन्ने डर सधैं हुन्छ । आफ्नो साधन भएकालाई यो कुरा मतलब छैन । त्यसैले यात्रुलाई समस्या हुन नदिन पहिल्यै बुकिङ खुलाएका हौं ।’ गत वर्षको तुलनामा अहिले चाँडै बुकिङ खुला गरिएको उनले सुनाए ।
यातायात व्यवसायी सम्बद्ध संस्थाले पनि अग्रिम बुकिङ खुला गर्नेबारे चासो दिएका छन् । बर्खाले बिग्रिएका सबै सडक पहिला मर्मत गरेर सहज बनाउनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘गत वर्ष एक साताअघि अग्रिम बुकिङ खुलाइएको थियो, यस पटक अलि चाँडै खोल्ने कि भन्ने पक्षमा छौं,’ उनले भने, ‘तर यसबारे अहिलेसम्म सरकारी निकायसँग छलफल भइसकेको छैन ।’
पहिरो र खाल्डाखुल्डीले गर्दा सडक बिग्रिएको स्वाँरको भनाइ छ । ‘सडक बिग्रिएर चाडबाडमा समयमै यात्रुलाई गन्तव्यमा पुर्याउन नसके समस्या हुन्छ,’ उनले भने, ‘सरकारले चाडबाड आउनुअघि नै सबै सडक सहज बनाउनुपर्छ ।’ अग्रिम बुकिङ खोल्नेबारे यातायात व्यवस्था विभागसँग छलफल भएपछि मात्र निर्णय हुने उनको भनाइ छ । गत वर्ष नै व्यवसायीले चाडबाडको मुखमा भाडा समायोजनको कुरा उठाएका थिए । अहिले पनि उनीहरूले भाडा समायोजन गर्नुपर्ने अडान लिइरहेको आएको विभागको दाबी छ । व्यवसायीले पहिल्यैदेखि भाडा समायोजनको कुरा उठाउँदै आएका छन्, अहिलेसम्म यो छलफलको विषय बने पनि कार्यान्वयन भएको छैन,’ विभाग स्रोतले भन्यो




















