पछिल्लो दुई महिनायता देशभर डेंगी संक्रमण बढ्दै गएको छ । काठमाडौं उपत्यका यो अवधिमा डेंगी र हैजा संक्रमणको ‘हब’ बनेको छ ।
उपत्यकामा जुलाई दोस्रो सातादेखि फैलिएको हैजा संक्रमण अझै पनि देखिइरहेको छ । ११ सेप्टेम्बरसम्म ललितपुरमा ५२ र काठमाडौंमा १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी ले जनाएको छ ।
यी दुईसहित, कैलाली, मकवानपुर, रोल्पा, प्युठान र सिन्धुपाल्चोकमा ६ सेप्टेम्बरसम्म ८० जना हैजा संक्रमित भएका छन् । डेंगी संक्रमणका हिसाबले पनि काठमाडौं अहिले चौथो नम्बरमा छ । काठमाडौं जिल्लामा मात्रै सन् २०२४ जनवरीयता ६२० जना संक्रमित भएका छन् । सप्टेम्बर १ देखि ६ सम्म ७४ जनामा डेंगी पुष्टि भएको छ ।
ललितपुरमा १४४ र भक्तपुरमा ९४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सेप्टेम्बरका ६ दिनमा मात्रै देशभर ८०५ जना डेंगी संक्रमित भएका छन् । योसँगै देशभर संक्रमतिको संख्या ७ हजार ६४० पुगेको छ ।
हालसम्म सबैभन्दा धेरै तनहुँमा एक हजार २३६, कास्कीमा ९३५ र पर्वतमा ७१७ जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमतिको संख्या २०० भन्दा कम छ ।
७५ जिल्लामा फैलिएको संक्रमणबाट यो वर्ष पाँचजनाको मृत्यु भएको ईडीसीडीको तथ्यांक छ । यो वर्ष हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको छ । विगतका वर्षहरूको रेकर्डलाई हेर्दा अगष्ट र सेप्टेम्बरमा सबैभन्दा धेरैमा डेंगी संक्रमण देखिएको छ । यसपटकको अवस्था हेर्दा अक्टोर अन्तिमसम्म नै डेंगीको जोखिम रहेको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहाल बताउँछन् ।




















