कोशी प्रदेशसभाको दोस्रो कार्यकालको २१ महिनाको अवधि गुज्रन लागेपछि संसदीय समितिको सभापति चयनको तयारी सुरु भएको छ । भदौ २४ गते प्रदेशसभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अम्बरबहादुर विष्टले सभापति पदका लागि भदौ २८ गते निर्वाचन हुने गरी मिति सार्वजनिक गरेका हुन् ।
दोस्रो प्रदेशसभाको कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि अर्थात् २०८० कार्तिक २२ गते ज्येष्ठ सदस्यले नेतृत्व गर्ने गरी समिति निर्माण भएको थियो । समितिको सभापति चयनको प्रक्रिया पूरा गर्न आजै विषयगत समितिमा रहने सांसदहरू समावेश तथा हेरफेर सम्बन्धी नामावली सभामा प्रस्तुत हुने कार्यसूची छ ।
समितिको नामावलीको अन्तिम टुङ्गो लागेसँगै समितिका सभापति चयनको कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ । प्रदेशसभामा न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् । ती समितिमा हाल ज्येष्ठ सदस्यहरूले सभापतिको काम गरिरहेका छन् ।
नेताहरूका अनुसार ७ वटा समितिमध्ये ३ वटाको सभापति एमालेले लिने, २ वटा कांग्रेसले लिने र प्रतिपक्षी दल माओवादीलाई १ र राप्रपालाई १ समितिको सभापति दिने सत्ता पक्षको तयारी छ । यद्यपि त्यसको औपचारिक निर्णय भइसकेको छैन । नेकपा एकीकृत समाजवादीले भने उक्त भागबण्डाप्रति असन्तुष्टि जनाउँदै आएको छ ।




















