परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

समितिको बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका निम्ति राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठाएका थिए । मन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिबद्धता जनाइन् ।

आफूले पनि हुनुपर्नेजति समावेशी र समानुपातिक नभएको महसुस गरेको उनले उल्लेख गरिन् । उनले सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने बताइन् ।

राजदूत सिफारिसका निम्ति आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि नपाएको उनले जानकारी गराइन् । उनले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका निम्ति निश्चित सीमा तोकिनुपर्ने बताइन् । निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानुन बनाउनुपर्ने उनले सुझाव दिइन् ।