डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ८ वर्षीय आलोकजङ्ग बस्नेत छन्।
झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ। कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको सङ्ख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ।
ताप्लेजुङमा भने डेंगीको एकजना पनि संक्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको सङ्क्रमण भएको छ।
यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी सङ्क्रमण भएको पाइएको छ।
गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको सङ्क्रमण फैलिन थालेको थियो ।




















