क्यानडामा नवआगन्तुक विदेशीले जागिर पाउन सकस भइरहेको छ । आप्रवासनमा भएको वृद्धिसँगै जनसङ्ख्या बढेपछि क्यानडामा बाहिरबाट आउनेले काम पाउन छाडेका छन् ।
त्यहाँका व्यवसायहरूले कर्मचारी भर्ती सुस्त पारेका छन् । अगष्टमा मात्रै सो देशमा काम गर्ने उमेरको जनसङ्ख्या ९६ हजार ४०० ले बढेको तथ्यांक कार्यालय स्ट्याटिष्टिक्स क्यानडाले जारी गरेको तथ्यांकमा उल्लेख छ । गएको महिना ८२ हजार जनाले त्यहाँको श्रम बलमा सहभागिता जनाएका थिए । तर सो अवधिमा खुद रोजगारी भने २२ हजार १०० ले मात्रै बढ्यो ।
पछिल्ला अन्तिम तीन महिनामा क्यानडाको अर्थतन्त्रले श्रम बलमा सहभागी हुने हरेक ६ मध्ये एक जनाका लागि मात्रै रोजगारी सृजना गरिरहेको छ । यो भनेको एक वर्षयताकै न्यून हो । वर्षको सुरुमा उपलब्ध कामदारको तुलनामा जागिर निकै छिटिछिटो बढिरहेको थियो । अगष्टमा श्रम बलमा वृद्धि उच्च थियो । गएको वर्ष १५ वर्षभन्दा बढी उमेरका मानिसको सङ्ख्या ११ लाखले बढेको छ । यसमध्ये आधाले मात्रै जागिर खोजेका थिए भने ५४ प्रतिशतले मात्रै जागिर भेट्न सफल भए ।




















