गणेश चतुर्थी हिन्दू धर्मको एक प्रमुख पर्व हो, जो भगवान गणेशको जन्मदिनको रूपमा मनाइन्छ। हरेक वर्ष भाद्र महिनाको शुक्ल चतुर्थीका दिन यो पर्व विशेष धूमधामका साथ मनाइन्छ। भगवान गणेशलाई बुद्धि, समृद्धि र शुभता प्रदान गर्ने देवता मानिन्छ, र गणेश चतुर्थीले उहाँको महिमा गाउने, पूजा गर्ने र आफ्नो जीवनमा समृद्धि र सुखको कामना गर्ने अवसर प्रदान गर्दछ।

यो पर्व नेपाल र भारत दुवै देशमा महत्त्वपूर्ण मानिन्छ,भारतमा विशेषगरी महाराष्ट्र राज्यमा यसलाई विशेष र व्यापक रूपमा मनाइन्छ। नेपालमा पनि यो पर्व विशेषगरी तराई क्षेत्र र अन्य गणेश भक्तहरूद्वारा धूमधामले मनाइन्छ। गणेश चतुर्थीका दिन भगवान गणेशको माटो वा अन्य सामग्रिबाट निर्मित मूर्ति स्थापना गरिन्छ।

गणेश चतुर्थीको प्रमुख विशेषता भनेको भगवान गणेशको मूर्ति स्थापना र विसर्जन हो। मूर्ति स्थापना गर्दा विशेष मन्त्रोच्चारण र पूजा गरिन्छ, र विसर्जनको दिन मूर्तिलाई जलाशयमा विसर्जन गरिन्छ, जसले जीवनको चक्रलाई प्रतीकात्मक रूपमा दर्शाउँछ। यो पर्वले भक्तहरूलाई आशा, विश्वास र उत्साह प्रदान गर्दछ।

धार्मिक महत्त्वका साथसाथै गणेश चतुर्थी सामाजिक र सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। यस अवसरमा समुदायका मानिसहरूबीच आपसी मेलमिलाप, सहयोग र एकताको भावना बढ्छ। यो पर्वले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको सन्देश बोकेको छ, जसले समाजमा सकारात्मकता भावना प्रवर्द्धन गर्छ।