अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ । आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठुलो मात्रामा अभियान चलाएको आरोप अमेरिकाले लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसको राज्यद्वारा सञ्चालित मिडिया आरटी ९पहिले रुस टुडे० ले टेनेसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ भनेर १ करोड अमेरिकी डलर प्रदान गरेको दाबी गरेका छन्।  गारल्याण्डका अनुसार मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बिचको चुनावमा ‘आफू अनुकूल नतिजा’ चाहन्छ।

प्रतिबन्ध लगाइएका १० जना अधिकारीहरूमा आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि समावेश छ। अमेरिकाले भनेको छ, ‘हाम्रा संस्थाहरूप्रति जनताको विश्वासमा आँच पुर्‍याउने प्रयास भइरहेको छ ।’ आरटीले भने आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ।