रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ ।परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो ।असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।

‘उनीहरुको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन । व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरुको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो,‘हामी सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर काम गरिरहेका छौं ।’हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन ।

परराष्ट्र स्रोतका अनुसार जवाफमा राजदूत नोभिकभले अहिले आफ्नो मुलुकमा युद्ध चलिरहेको र त्यस विषयमा आफ्नो विदेशमन्त्रालय नभई रक्षा मन्त्रालयले हेरिरहेको जवाफ दिएका थिए । ‘हामीले नेपालीहरुको सम्बन्धमा चासो राखेर कुरा गयौं । तर रुसी पक्षबाट अहिले युद्ध भइरहेको र रक्षा मन्त्रालयले हेरिरहेको भन्ने जवाफ आयो,’ कान्तिपुरसँग परराष्ट्रमन्त्री राणाले भनिन्,‘तर पनि हामीले कुटनीतिक पहलमार्फत लगातार रुपमा नेपालीहरुलाई फर्काउनको लागि कोशिस गरिरहेका छौं । उनीहरुलाई क्षतिपूर्तिको लागि पनि काम गरिरहेका छौं ।’