जिल्ला अस्पताल संखुवासभामा भवनको प्यासेज र भुइँमा बिरामीको उपचार हुने गरेको छ । मौसम परिवर्तनसँगै जिल्ला अस्पताल संखुवासभामा डेंगी, स्क्रबटाइफस, झाडापखलालगायतका बिरामीको चाप बढेको छ ।
बिरामीको चाप बढेपछि भर्ना भएर बस्नु पर्ने बिरामीलाई बेड अभाव भएको हो । बेड अभाव भएपछि बिरामीले कष्टबीच उपचार सेवा लिइरहेका छन् । चैनपुर नगरपालिका(११ का भक्तबहादुर दाहालले ज्वरो आउने र झाडापखला लागेपछि ९ वर्षीय नाति रोमन दाहाललाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याए ।
अस्पतालले चिकित्सकको निगरानीमा उपचार गर्नु पर्ने सल्लाह दिएपछि रोमनलाई अस्पताल भर्ना गरियो । तर, एकै प्रकृतिका धेरै बिरामी भएपछि बेड अभावमा उनलाई बेन्च जोडेर उपचार गरिएको उनका हजुरबुवा भक्तबहादुर दाहालले बताए । जिल्ला अस्पताल आउने अधिकांश बिरामीले बेड अभावमा प्यासेजमा बेन्च जोडेर उपचार गर्नु पर्छ ।
अस्पतालले प्यासेजमा उपचारका लागि १५ वटा भन्दा बढी अस्थायी बेड तयार पारेको उनले बताए । यसले बिरामी र कुरुवालाई भने निकै सास्ती भएको छ । निर्माणाधीन भवन ढिलासुस्ती हुँदा अस्पतालले घर भाडामा लिएर थप सेवा दिइरहेको छ । समयमै भवन निर्माण नसकिँदा फिजियोथेरापी, खोपलगायत सेवाका लागि घर भाडामा लिइएको उनले बताए ।




















