इजरायलमा सरकारविरोधी प्रदर्शन चर्किएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध सडक प्रदर्शन चर्किएको हो ।  

शनिबार इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको थियो । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् ।

हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो । आईडीएफले आफूहरू पुग्नुभन्दा केही समयअगाडि हमासले इजरायली नागरिकको हत्या गरेको जनाएको छ । हमासले भने इजरायली आक्रमणमै उनीहरू मारिएको दाबी गरेको छ ।

आफ्नै नागरिकको सुरक्षा गर्न नसकेको भन्दै इजरायलको जेरुसेलम र तेलअभिभलगायतका सहरमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन् । सरकारको विरोधमा आज देशभर हड्ताल आह्वानसमेत गरिएको टाइम्स अफ इजरायलले जनाएको छ ।

प्रदर्शनकारीहरूले नेतान्याहु नेतृत्वको सरकारले हमासले बन्धक बनाएका इजरायली नागरिकको सुरक्षाका लागि हमाससँग सम्झौता गर्न तत्पर नरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री नेतान्याहु हमाससँग युद्धविरामभन्दा भन्दा पनि आफ्नो पद जोगाउन लागिपरेको प्रदर्शनकारीहरूको आरोप छ ।

हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।