नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।  गगनको चुनावी गठबन्धन गर्न नहुने  र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । 

अर्का महामन्त्री थापाको आगामी चुनावमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छ ।

महासमिति बैठकमा उठेका विषयलाई समेटेर परिमार्जन सहित प्रतिवेदनहरू केन्द्रीय समितिबाट पारित गर्ने भनिए पनि पाँच महिनासम्म सहमति जुट्न सकेन । यही कारण महासमिति बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री थापाको साङ्गठनिक र महामन्त्री शर्माको समसामयिक राजनीति प्रस्तावहरूले अहिलेसम्म आधिकारिकता पाउन सकेका छैनन् ।

संस्थापन पक्षले दुवै महामन्त्रीको प्रस्ताव परिमार्जनसहित पास गर्नुपर्नेमा जोड दिँदै आएको छ ।