अमेरिका,भर्जिनिया राज्यको मनासस पार्कबाट २८ वर्षीया ममता काफ्ले २२ दिनअघि बेपत्ता भएकी हुन् । तर हालसम्म पनि उनी कहाँ छन् भन्ने पत्ता लागेको छैन ।

गत साउन १६ देखि बेपत्ता भएकी हुन् । उक्त घटना अहिले भर्जिनिया राज्यमात्र नभएर अमेरिकाव्यापी चासोको विषय बनेको छ । उनीबारे बुझ्न दुई दिनपछि साउन १८ मा प्रहरी घरमा पुगेको थियो । घरमै रहेका ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ गर्‍यो । उनले आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेनन् ।

तर साउन २१ मा भट्टले प्रहरीमा पुगेर श्रीमती काफ्ले हराएको रिपोर्ट गरे । त्यसपछि मनासास पार्क प्रहरीले घटनाबारे तीव्र रूपमा अनुसन्धान थालेको हो । एक वर्षीया छोरीकी आमा काफ्लेको नेपालस्थित घर काभ्रेको पनौती रहेको खुलेको छ । र, उनी भर्जिनियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् । प्रहरीका अनुसार काफ्लेको उचाइ ५ फिट, तौल १३२ पाउन्ड, कालो कपाल र गाढा खैरो आँखा छ ।

प्रहरी अनुसन्धानमा चासोको व्यक्तिका रूपमा भट्ट रहेको उल्लेख छ । स्थानीय समाचार संस्थाहरूका अनुसार प्रहरीले भट्टको घरमा बुधबार बेलुकी ५ बजे खोजतलास सुरु गरेको थियो । खोजतलासपछि उक्त घरलाई पहेंलो टेप टाँसिएको हो । प्रहरीकाअनुसार ममता हराएको घटनालाई लिएर १० जनालाई पक्राउ पुर्जी जारी गरिएको र एक सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ । साथै, प्रहरीका प्रमुख लुगोले समुदायका व्यक्तिहरूलाई अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेका छन् । प्रहरीले अनुसन्धानकै क्रममा रहेका कारणले धेरै कुरा अहिले नै बाहिर ल्याउन नमिल्ने पनि प्रस्ट पारेको छ ।