देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । पछिल्लो ३ घण्टामा पर्साको रंगापुरको टांडी बजारमा सबैभन्दा धेरै ६० दशमलव २ र कञ्चनपुरको दोधारामा ५४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित कैलाली, दैलेख, नुवाकोट, बारा, लमजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच कैलालीको मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने जोखिम भएकाले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपासका क्षेत्रमा रहेका दुधौरा, पसाहा पनि बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सचेत गराउँदै बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।