कोशीमा लामो समयदेखि स्थागित गरिएको प्रदेशसभा बैठक संसद दुई सातापछिका लागि बोलाइएको छ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार सूचना जारी गरेर भदौ १८ गते दिउँसो १ बजेलाई संसद बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बजेट पारित गरेपछि गत असार ८ गतेबाट बैठक स्थगित गरिएको थियो। सबैतिरबाट दबाब बढेपछि सभामुख अम्बरबहादुर विष्ट संसद बैठक बोलाउन बाध्य भएका हुन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि संसदलाई बन्धक बनाएको आरोप लाग्दै आएको थियो। बैठक बोलाउन प्रतिपक्षीसहित सत्तारुढ दलका सांसद प्रदेशसभा सदस्यले दबाब दिएका थिए। प्रदेशसभाको पाँचौं अधिवेशनको तेह्रौं बैठक बसेर स्थगित संसदका चौधौं बैठक बोलाउन लामै समय लाग्यो।
तर, मुख्यमन्त्रीलाई अनुकूल हुने गरी दुई सातापछिको समय राखेर सभामुख विष्टले बैठक बोलाएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासँगको सल्लाहमा मुख्यमन्त्री कार्कीले जनताको आवाज बोल्ने थलो संसदलाई स्वार्थपूर्ण हिसाबले बन्धक बनाइदिएको आरोप थियो। मुख्यमन्त्रीका कारण संसद बन्धक बनेपछि प्रतिपक्षीले विरोध गरेका मात्रै थिएनन्, सत्तारुढ दलका सांसदले समेत असन्तुष्टि पोखेका थिए।




















