तस्बिर : एपी

पछिल्लो समय युक्रेनी फौज अप्रत्यासित रूपमा रुसी क्षेत्रमा अघि बढिरहेको छ । दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको द गार्जियनले जनाएको छ । 

त्यसअघि युक्रेनले सेम नदीमाथिका दुईवटा पुल ध्वस्त पारिदिएको थियो । ती पुल रुसी फौजले सरसामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो । यसअघि सैन्य विश्लेषकहरूले त्यस क्षेत्रका तीनवटा पुलमार्फत रुसले आफ्नो फौजलाई सामान आपूर्ति गरिरहेको पहिचान गरेका थिए ।

दुई सातायता युक्रेनले रुसी भू–भागमाथिको आक्रमण तीव्र पारेको हो । २०२२ फेब्रुअरी २४ मा रुसले आक्रमण सुरू गरेयता युक्रेनले अगस्ट ६ मा पहिलोपटक रुसी भूभागमाथि सर्वाधिक ठूलो आक्रमण गरेको हो । त्यसयता जारी आक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो भएको बताइएको छ ।