रक्षामन्त्री मानवीर राईसहितको टोली बाढीग्रस्त थामे गाउँ पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली शनिबार थामे पुगेका हुन्।

स्थलगत निरीक्षणका लागि पुगेको टोलीमा मन्त्री राईसहित सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल र जिल्लाका सांसदहरू थामे पुगेका हुन्। बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प छ ।

शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००र१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसकारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।