घाँस काट्न गएकी सान्नी त्रिवेणी–९ मुम्राकी ६८ वर्षीया मनपुरा केसीको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो मुम्राको मौरा पानीमा घाँस काट्ने क्रममा चिप्लिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अरुण केसीले बताए । उनको सोमबार दिउँसो गाउँमै अन्तिम संस्कार गरिएको छ । उनका ५ छोरा ३ छोरी छन् । पति गोमे केसी कृषक हुन् ।
कालीकोटमा बर्सेनि भीरबाट लडेर ३०र४० जनाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । साउन २४ मा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भीरबाट लडेका र ढुंगाले लागेर मृत्यु भएका व्यक्तिलाई विपद् मानेर राहत दिने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको सहायक प्रजिअ मुक्तिनन्द रावलले बताए ।




















