बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी बजारको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। 

सोमबार ठूलो गोलभेँडाको प्रतिथोक मूल्य ९० रूपैयाँदेखि एक सय रूपैयाँ छ। त्यस्तै, सानो लोकल गोलभेँडाको मूल्य ५० देखि ६० रूपैयाँ र सानो टनेल गोलभेँडाको मूल्य ६० देखि ७० रूपैयाँ छ।

अघिल्लो दिनको तुलनामा आज गोलभेँडाको मूल्य प्रतिथोक मूल्य २० रूपैयाँदेखि ३० रूपैयाँ बढेको देखिन्छ। 

आइतबार कालीमाटी बजारमा ठूलो गोलभेँडाको प्रतिथोक मूल्य ७० देखि ८० रूपैयाँ थियो। त्यस्तै, सानो लोकल गोलभेँडाको मूल्य २५ देखि ३५ रूपैयाँ र सानो टनेल गोलभेँडाको मूल्य ३७ देखि ४८ रूपैयाँ थियो।

बजारमा गोलभेँडाको आपूर्ति कम भएसँगै मूल्य बढेको कालीमाटी बजारका गोलभेँडा व्यवसायी ज्ञानेद्र श्रेष्ठले जानकारी दिए।

'अहिले बजारमा गोलभेँडा एकदमै कम आएको छ,' उनले भने, 'त्यसैले मूल्य बढेको हो।' 

भारतीय गोलभेँडा आएपछि मात्रै मूल्य सस्तिने उनी बताउँछन्। उनका अनुसार आजभोलि भारतीय गोलभेँडा कालीमाटी बजारमा भित्रिएको छैन। 

'बोर्डर क्षेत्रमा चाहिँ आएको छ भन्ने सुनेका छौं। यहाँ चाहिँ भारतीय गोलभेँडा आएको छैन,' उनले भने। 

उनका अनुसार आज कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट १५ सय देखि १६ सय रूपैयाँ छ। हिजो प्रतिक्रेट ८ सयदेखि ९ सय रूपैयाँ थियो।