राकाठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताए ।
राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।
उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’
राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२।५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पारे ।




















