धरानका मेयर हर्क साम्पाङ खानेपानीको सेवा शुल्क र महसुल वृद्धि फिर्ता लिन बाध्य भएका छन् । आइतबार साँझसम्म चलेको द्विपक्षीय वार्तापछि धरान खानेपानी व्यवस्थापन बोर्ड र १० दलीय संयुक्त संघर्ष समितिले यस्तो निर्णय गरेको हो सहमतिपछि साउन ११ गतेदेखि जारी १० राजनीतिक दलको आन्दोलन पनी फिर्ता भएको छ ।

अत्यधिक शुल्क वृद्धिविरुद्ध धरानमा दश राजनीतिक दल आन्दोलनमा उत्रिएका थिए । यस क्रममा दैनिक आन्दोलन र धरान उपमहानगर कार्यालय घेराउ हुँदै आएको थियो । तीन दिनअघि उपमहानगर गेट अगाडि विद्यार्थी कुटिएपछि आन्दोलन झन् सशक्त भएको थियो ।

कार्यक्रममा विद्यार्थीसमेत सहभागी भएपछि ‘केही हच्किएका’ साम्पाङले विज्ञप्ति प्रकाशन गरी घटनाप्रति दुःख जनाएका थिए । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका साम्पाङले आन्दोलनरत पक्षसँग सहमति गरी पहिलेकै महसुल र शुल्क कायम गर्ने सहमति गरेका हुन ।

अब धरानमा खानेपानीको शुल्क र महसुल पुरानै दर यथावत् रहने छ । तर, नेपाल सरकार खानेपानी महसुल निर्धारण आयोगको स्वीकृति आउन्जेल पर्खनुपर्ने छ ।