काठमाडौँको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्ने भएको छ । नेपाल र भियतनामबिच पर्यटक आदानप्रदान गर्न कम्पनीले यसअघि पनि सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको छ । 

आगामी दसैँको टिकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदानप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ । 

त्यसै गरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।

नेपाल र भियतनामबिच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।