नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको निष्कर्षसहित १४ पाने धारणा स्थायी समितिमा पेस गरेका छन्।

उनले पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकको धारणापत्र स्थायी समितिमा पेस गरेका हुन्।

१४ पृष्ठको धारणामा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रश्नैप्रश्न खडा गरेका छन्।

‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ, हाम्रा एजेण्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेका छैनौं,’ जनार्दनको निष्कर्ष छ।

२०६४ सालको चुनावका जितेका १२० सिटमध्ये अधिकांश स्थान गुमाइसकेको भन्दै उनले माओवादी केन्द्र शून्यतर्फ केन्द्रित भएको बताएका छन्।