उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजनहरु पुग्न थालेका छन् ।
यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाईंकुण्डमा पुग्ने अनुमान गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन ९आगामी भदौ ३ गते० भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपानीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाईंकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । साइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।
भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाईंकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे ।
गोसाईंकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे ।




















