नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख देखिएको छ । यसले भोलिका दिनमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म )छन् । तर बालकको तुलनामा बालिकाको संख्या थोरै छ ।
त्यसमा पनि जनगणना भएको एक वर्षको अवधिमा लैङ्गिक अनुपातः ११२ रहेको छ । अर्थातः हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् ।
‘विश्वभर मृत्युदर महिलाको तुलनामा पुरुषको धेरै हुन्छ, त्यसकारण लैङ्गिक अनुपात १०५ सम्म सही मानिन्छ,’ कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा। हेमराज रेग्मी भन्छन्, ‘नयाँ जन्ममा ११२ को लैङ्गिक अनुपात खतराउन्मुख अवस्था हो ।’
जन्मजात नै बालक जन्मिरहेको भए त्यसलाई सामान्य लिन सकिन्छ, तर जानाजान छोरी नजन्माउने प्रवृत्ति बढेको भए त्यो डरलाग्दो अवस्था हुने उनको चेतावनी छ । यसले भविश्यमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुने खतरा बढ्ने उनी बताउँछन् ।
समग्र जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६९ हजार ५८३ छ । यसमा पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाख धेरै छ ।
तर बालबालिकाको मात्र प्रवृत्ति अध्ययन गर्दा बालिकाको तुलनामा बालक धेरै छन् । त्यसमा पनि एक वर्ष अवधि भित्रको जन्मले लैङ्गिक असन्तुलनतर्फ संकेत गरेको डा। रेग्मीले जानकारी दिए ।
प्रदेशगत रुपमा हेर्दा नयाँ जन्ममा सबैभन्दा डरलाग्दो अवस्था मधेश प्रदेशमा देखिन्छ । यस प्रदेशमा हरेक १०० बालिका जन्मिँदा ११८ जना बालक जन्मिएका छन् । अर्थातः यहाँ १०० बालिका जन्मिँदा ११८ बालक जन्मिएका छन् ।
कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ११६ छ । बागमती र गण्डकीमा यो अनुपात १११ छ । कर्णालीमा १०९ देखिन्छ । सबैभन्दा कम कोशी प्रदेशमा १०६ रहेको छ ।
विश्वका विभिन्न मुलुकको प्रवृत्ति हेर्दा चीन र नेपालमा लैङ्गिक अनुपात समान ११२ देखिन्छ । भारतमा १०८, थाइल्याण्ड र दक्षिण कोरियामा १०६, जापान र बंगलादेशमा समान १०५ देखिएको छ ।
शून्यदेखि १७ वर्षसम्मको उमेर समूहमा लैङ्गिक अनुपात हेर्दा १०७.६ रहेको छ । अर्थातः यो उमेर समूहमा प्रति १०० बालिका हुँदा बालकको संख्या १०७.६ रहेको छ । समग्र जनसंख्यामा लैङ्गिक अनुसमिान ९५.६ छ । त्यसैले समग्र जनसंख्याको तुलनामा पछिल्लो प्रवृत्ति बढी खतराउन्मुख मानिएको छ ।




















