ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो । साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ ।

तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् । घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ । 

दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।