कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे सुरू हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरू भएको बैठकमा ११ वटा एजेन्डा छलफलका लागि पेस भएको छ।
बुधबार दिउँसो बसेको बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेजस्ता प्रस्ताव रहेको छ। प्रवक्ता प्रकाशशरण महतले प्रस्तावहरू राखेर बुधबारका लागि बैठक सकिएको जानकारी दिएका थिए।
उनकाअनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ। यो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव छ।
राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय पनि अनुमोदन गरिएको उनले जानकारी दिए। कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो।
नेविसंघ, नेपाल तरूण दललगायत भ्रातृ संस्थाहरूको अधिवेशनबारे समय दिएको र निर्देशक समिति बनाउने निर्णय यसअघि नै भएको विषयमा पनि छलफलको एजेन्डा छ। अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासनसम्बन्धी प्रगति विवरण पनि बैठकमा पेस गरेको प्रवक्ता महतले जानकारी दिए।
पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरूमा कसरी पूर्ति गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने उनले बताए।




















