महिला भलिबलमा नेपालले उपाधिका लागी भारतसँग नै भिडन्त गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि पुन आमने(सामने हुन लागेका हुन् ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ ।
यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए ।
‘हामीले विपक्षी अनुसारको रणनीति बनाएर खेलाउन सक्यौं भने जित्न सक्छौं’, उनले भने । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरण्मा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बताए ।
भारतसँग यसअघि पटक पटक प्रतिस्पर्धा गरिसकेको र भारतका धेरै खेलाडीले नेपालमा लिग खेलेकाले उनीहरुबारे धेरै जानकारी रहेको उनको भनाइ छ । ‘उनीहरुको ब्लक र स्पाइक राम्रो छ । हामीले सर्भिस र डिफेन्स आजजस्तो गर्न सक्यौं भने भोलिको खेलमा भारतलाई सोझो सेटमा हराउन सक्छौं’, भट्टले भने ।




















