धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।

त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् । माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए । ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौं’, उनले भने,‘ बढेको शूल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसशुल र शुल्क वृद्धि गरेको थियो । शुल्क घटाउनका लागि ११ साउनमा १० राजनीतिक दलले ७२ घण्टा समय दिएका थिए । तर बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरे । तालाबन्दीपछि भने उनीहरुले महशुल नतिर्न सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङको तर्क छ । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।