सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा। मीना थापाले बताइन् ।

जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।

एमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन नगरेको उनले बताइन् । उपचारको क्रममा थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान नसकेको र त्यसपछि तल खस्न थालेपछि जहाजलाई नियन्त्रणमा राख्न नसकेको उनले बताएका थिए ।

९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

त्यसै दिन अस्पताल भर्ना भएका शाक्य ८ दिनको उपचारपछि डिस्चार्ज हुन लागेका हुन् ।