आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै/कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक(दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




















