काठमाडौं । काठमाडौंको कोटेश्वरको रामेछाप खाजाघर बाट नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गेष्टहाउसका सञ्चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का छन् ।

उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार समेत गरेको छ ।

आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको आरोप उनीहरुमाथि छ । प्रहरीका अनुसार शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाउने गरेको खुलेको छ । प्रति ग्राहक ४र५ हजार रूपैयाँ गेस्टहाउस सञ्चालक लिने गरेको आरोप छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।