सकिमाङा पुन्हि सकेपछि नेवार समुदायले नेपाल संवतको दोस्रो चाडका रूपमा यःमरि पुन्हि मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छन् । असार साउनमा रोपिएको धान मङ्सिर महिनामा काटेर भित्र्याएपछि नयाँ धानको चामलको पिठोबाट पहिलो परिकारका रूपमा बाफमा पकाएर यःमरि खाने गरिन्छ । यःमरिरयोमारी परम्परागत नेवार परिकार हो ।
यसलाई खासगरी यःमरि पुन्हि पर्वमा बनाउने तथा खाने गरिन्छ । दुई अक्षर मिलेर बनेको यःमरिमा ‘य’ वा ‘यो’ को अर्थ मनपर्ने तथा ‘मरी’ वा ‘मारी’ को अर्थ रोटी हो । यसरी मनपर्ने र मिठो रोटीलाई नेवार भाषामा यःमरिरयोमरी भन्ने गरिन्छ । यःमरि काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पहिचान पनि हो । यसको ठुलो सांस्कृतिक महत्त्व छ । यो परिकार तयार गरिने यःमरि पुन्हि अर्थात् पौष शुक्ल पूर्णिमा नेवार समुदायको प्रमुख पर्व हो । यस दिनले उक्त वर्षको धान भित्र्याउने समय समाप्त भएको जनाउ दिन्छ ।
मानिसले अन्नकी देवी अन्नपूर्णा, धनको देवता कुबेर, मृत्युको राजा यमराज तथा आफ्ना पूर्वजहरूलाई यःमरि चढाउने गर्छन् । नेवार समाजमा यसलाई समृद्धि, धन, आत्मशुद्धिसँग जोडेर मनाइन्छ । यःमरि केवल एउटा परिकार मात्र नभएर नेवार सभ्यता, कृषि संस्कार तथा धार्मिक आस्थासँग जोडिएको प्रतीकात्मक पहिचान पनि हो । यसको ऐतिहासिकता निकै रोचक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ ।
पौराणिक कथा तथा यःमरिको उत्पत्तिबारे नेवारहरूको परम्परागत कथा अनुसार छैटौँरसातौँ शताब्दीतिर लिच्छवि कालिन राजा अंशुवर्माको समयदेखि यो चलन सुरु भएको मानिन्छ । नयाँ सांस्कृतिक परम्परा, भोजन र विश्वाससँग गहिरोगरि जोडिएको यो पर्व नेवार समुदायको सांस्कृतिक पहिचानको प्रतीक हो ।




















