शुक्रवार सोलुखुम्बुको थामेमा बाढीले पुर्‍याएको क्षतिले हिमाली क्षेत्र हुँदै नदी तटीय क्षेत्रको जोखिमलाई फेरि देखाएको छ । साना किसिमका दुई वटा हिमताल फुटेर आएको बाढीले थामेमा ठूलो क्षति गर्‍यो भने दुधकोशी नदी तटीय क्षेत्रमा पनि क्षति पुर्‍यायो । सानै खालका ताल फुट्दा त यति क्षति भयो भयो भने अझ ठूला ताल फुटेमा नेपालको हिमाली बस्ती हुँदै निकै तलसम्मको तटीय क्षेत्रमा कति क्षति गर्ला भन्ने डर बढेको छ ।

हिमालय क्षेत्रबारे काम गर्ने संस्था, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसीमोड० ले चार वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालको नदी तटीय क्षेत्रमा असर गर्ने खालका ४७ वटा सम्भावित खतरनाक हिमताल रहेका उल्लेख छ । तीमध्ये २५ वटा तिब्बतमा, २१ वटा नेपालमा र एउटा भारतमा पर्छन् ।

तर यो सूचीमा नरहेका दुई वटा सामान्य हिमताल फुट्दा शुक्रवार सोलुखुम्बुको थामे गाउँ सहित दुधकोशी तटीय क्षेत्रमा ठूलो क्षति गर्‍यो । यो घटनाबाट ठूला मात्र नभई सामान्य ताल पनि खतरनाक रहेका देखाएको हिमनदी तथा हिमताल विज्ञ डा। मोहनबहादुर चन्द बताउनुहुन्छ । चन्द भन्नुहुन्छ, ‘यो घटनाले ठूला र लगातार आकार बढिरहेका तालको जोखिमबारेमा मात्रै चर्चा हुने गरेको छ, तर सतहमा देखिएका साना ताल र भित्र रहेका हिमताल पनि एक आपसमा मिलेर ठूलो समस्या ल्याउँछन् भन्ने देखाएको छ ।’

इसिमोडको प्रतिवेदन अनुसार कोशी, गण्डकी र कर्णाली नदीबेसिनमा तीन हजार छ सय २४ वटा हिमताल पाइएको छ । तीमध्ये एक हजार चार सय १० वटा हिमताल फुटेमा ठूलो बाढी आउन सक्छ । इसिमोडले प्रतिवेदनमा तालको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्थालाई हेरेर जोखिम पहिचान गरेको जनाएको छ ।

योसँगै हिमाली क्षेत्रको भौगर्भिक अवस्था, विषम मौसमको अवस्था र हिमाली क्षेत्रमा हुने मानवीय गतिविधिले पनि हिमाली क्षेत्र अत्याधिक जोखिममा रहेको डा। चन्द बताउनुहुन्छ । चन्द भन्नुहुन्छ, ‘हाम्रो हिमाली क्षेत्र कमजोर भूबनोट भएको ठाउँ हो, यस्तै सामान्य रुपमा भए पनि सरिरहनु, अत्याधिक भिरालोपन, बढ्दो मानवीय गतिविधि, तापमान्मा भइरहेको वृद्धि लगायतका कारण हिमाली क्षेत्र अत्याधिक जोखिममा रहेको छ ।’

पछिल्लो समयमा जलवायु परिवर्तका कारण हिमाली क्षेत्रमा विपद्का घटनाको जोखिम बढेको चर्चा पनि छ । तर नेपालमै सयौं वर्षअघि पनि हिमताल फुटेका घटना रहेकोले अहिलेका घटनालाई जलवायु परिवर्तनकै कारण भन्न नसकिने तर जलवायु परिवर्तनले जोखिम भने बढाएको जलवायु परिवर्तनले हिमनदी र हिमालमा कस्तो असर गर्छ भन्ने विषयमै विद्यावारिधी गर्नुभएका मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि सङ्कायका डिन डा। सुदीप ठकुरी बताउनुहुन्छ ।

ठकुरी भन्नुहुन्छ, ‘सबै घटनालाई जलवायु परिवर्तनको कारण भन्न सकिंदैन । नेपालमा हिमताल फुट्ने घटना कयौं वर्षअघि पनि भएका छन् । हाम्रो हिमाली क्षेत्रको भूबनोट कमजोर छ, कमजोर ठाउँमा बनेका ताल कुनै पनि बेला फुट्ने जोखिम रहन्छ, अत्याधिक भिरालो ठाउँ भएकोले सानै ताल फुटेमा पनि तल पुग्दा ठूलो क्षति गर्छ । त्यसैले पहिलेदेखिकै जोखिम हो । तर जलवायु परिवर्तनले तुलनात्मक रुपमा हिमाली क्षेत्र बढी जोखिममा परेको भने सत्य हो । हिउँ पग्लिने क्रम बढेसँगै हिमनदी पग्लिएर हिमतालको सङ्ख्या र आकार बढ्छ र यसको विस्फोटको जोखिम पनि बढाउँछ ।’

हिमाली क्षेत्र आफैंमा जोखिमपूर्ण छ भने त्यहाँ हुने घटनाले तल्लो तटीय क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्छ । नदी तटीय क्षेत्रमा भएको बस्ती र सडक, पुल, जलबिद्युत आयोजना लगायतका कारण निकै तलसम्म जोखिम हुने जलवायु तथा हिमताल विज्ञ डा। ठकुरी बताउनुहुन्छ । चार दशकअघि खुम्बुकै एउटा हिमताल फुट्दा खोटाङको रबुवा बजारसम्म क्षति पुर्‍याएको उदाहरण दिंदै ठकुरी भन्नुहुन्छ, ‘हिमाली क्षेत्रमा शुरु भएको बाढीले थप कटान गर्दै जान्छ र कैयौं किलोमिटर तलसम्म असर गर्छ भन्ने यसअघि नै देखाएको छ । नदी तटीय क्षेत्रमा बस्ती धेरै भएकोले पनि जोखिम बढी हुन्छ ।’

नेपालमा रहेका ठूला हिमताल फुटे भने त्यसले गर्ने असर शुक्रवार सामान्य हिमताल फुटेको घटनाले नै देखाएको छ । पहाडी क्षेत्रमा पानीको बहाव तीब्र हुने भएकोले त्यसले वरपरको भागलाई बगाउँदै लैजाने भएकोले तलसम्मै क्षति पुर्‍याउँछ । कयौं हिमताल फुट्ने जोखिम रहेका बेला सरकारले तटीय क्षेत्रमा सुरक्षा र पूर्व सूचना प्रणालीका लागि पर्याप्त काम गरेको पाइँदैन । जोखिममा रहेका सबै ठाउँमा पूर्व सूचना प्रणाली आवश्यक रहेको कुरालाई थामे घटनाले पनि देखाएको हिमताल विज्ञ डा. मोहनबहादुर चन्द बताउनुहुन्छ ।

जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढ्नु, हिमाली क्षेत्रमा मानवीय क्रियाकलाप बढ्नु, नदी तटीय क्षेत्रमा बस्ती विस्तार, सडक पुल, जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माण लगायतले जोखिम अझै बढिरहेको छ । यसैले सानो हिमतालले पुर्‍याएको ठूलो क्षतिबाट पाठ सिकेर समयमै सुरक्षित पूर्वाभार निर्माण र पूर्व सूचना प्रणाली राख्नुपर्ने देखिन्छ । 

thee