कानुनले बालविवाह निरुत्साहित गरेको छ । तर प्रेम, भागी, अनौपचारिक विवाह भइरहेका छन् । विवाह नै नभइकन पनि गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या बढ्दो छ । यसलाई सामाजिक प्रश्नको रूपमा लिएर अध्ययन गरी कारण पत्ता लगाउनुपर्छ ।

किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ ।

यसबेला बाल्यकाल र वयस्कको बीचको समयमा हुने भएकाले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने, बुझ्न भन्न गाह्रो हुन्छ । किशोर–किशोरी समयमा यौन, यौनिकताको पनि विकास हुन्छ । कुन कुरा सही–गलत हो रु आफूमा आएको यौनको संवेग कसरी नियन्त्रण गर्ने रु भन्ने उनीहरूलाई चुनौती हुन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडीएचएस० २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णालीमा २१ प्रतिशत र मधेश प्रदेशमा २० प्रतिशत यो उमेरका किशोरी गर्भवती हुने गरेका छन् ।

बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारी किशोरले १५ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर र किशोरीले यौनसम्पर्क गरिसक्ने सर्वेक्षणले देखाएको छ ।

बालविवाह र कलिलै उमेरमा गर्भवती हुने संख्या लक्ष्य अनुरूप घटाउन सकिएको छैन । विद्यालय अध्ययन गर्ने किशोर–किशोरीलाई मध्यनजर गर्दै सरकारले बृहत् यौनिकता शिक्षा लागू गरेको छ । तर पछिल्लो समय यस विषयलाई ऐच्छिक बनाउँदा यौन शिक्षा लिनबाट किशोरकिशोरी वञ्चित भएका छन् ।

विद्यालयका किशोर–किशोरी लक्षित यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरूको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन् स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न पनि त्यस्तो शिक्षाले सहयोग पुग्नेथियो ।

यस्तो शिक्षाले यौनिक जीवनलाई स्वस्थकर बनाउन, एचआईभी, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन सहयोग गर्छ । यस्तै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन पनि मद्दत गर्नेछ ।

बृहत् यौनिकता शिक्षा लागू भइरहँदा केही हदसम्म न्यूनीकरणको प्रयास गरेको थियो । तर यस विषयलाई ऐच्छिक बनाएपछि हाम्रो प्राथमिकता कता गयो भन्न सकिएन । प्रभावकारी शिक्षाको अभावमा धेरै असरहरू देखिन्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा बच्चा र आमाको मृत्युदर बढी हुन्छ । बच्चाहरू पनि समय नपुगेर कम तौलको जन्मिने, शारीरिक, मानसिक विकास हुने सम्भावना कम हुन्छ ।

किशोरी उमेरमा बिहे हुँदा उनको जीवन नै अस्तव्यस्त हुन्छ । अध्ययनलाई निरन्तरता दिन सक्दिनन् । बच्चा जन्माएर घरमै बस्नुपर्ने बाध्यताले श्रीमान् वा परिवारकै भरमा बाँच्नुपर्ने हुन्छ । अध्ययनले पनि यस्ता किशोरीमाथि श्रीमान्बाट यौन शोषण भइरहने र घरपरिवारबाट श्रम शोषण उच्च हुने देखाएको छ ।

हरेक विषयमा अरूमाथि निर्भर हुनुपर्ने भएपछि किशोरीले आफ्नो प्रजनन् स्वास्थ्य, सन्तान नजन्माउन वा बालबालिकाप्रति गरिने निर्णयका लागि स्वतन्त्र हुँदिनन् । जसका कारण सन्तानको जीवनमा पनि नकारात्मक असर पारिरहेको हुन्छ ।

सधैं नै किशोरकिशोरीलाई सही परामर्शको खाँचो हुन्छ । उनीहरूले खोजेको सूचना र चाहेको जानकारी हामीले दिनसकेका छैनौं ।

हामीले २० वर्ष नपुगी बिहे गर्न नहुने कानुन त निर्माण गर्‍यौं, तर यसको पालना गर्ने वातावरण किन भइरहेको छैन भनेर मसिनो गरी कारण खोज्न सकेनौं । बिहेवारी २० पारि भन्न थालेको पनि वर्षौं भइसक्यो । तर अहिलेसम्म पनि ठूलो संख्यामा बालविवाह भइरहेको छ र किशोरीहरू गर्भवती भइरहेका छन् भन्ने तथ्यांकले देखाउँछ ।

अहिले यो विषय सामाजिक प्रश्नको रूपमा उब्जिएको छ । किशोर–किशोरी किन चाँडै बिहे गर्ने निर्णयमा पुग्छन् वा समाजबाटै यसमा किन प्रोत्साहन मिलिरहेको छ भनेर खोज्ने बेला भइसकेको छ । यस विषयलाई हामीले समयमै सम्बोधन नगर्ने हो भने किशोरी झन् पीडामा पर्दै जान्छन् ।

किशोरी उमेरमै जन्माएका बच्चाको स्थानीय तहले जन्मदर्ता नगरेका गुनासो आजभोलि धेरै सुनिंदै आएको छ । जन्मिसकेको बच्चाको अस्तित्व त स्वीकार नगर्ने भन्ने हुँदैन होला । हामी कहाँ चुकिरहेका छौं, त्यसको खोजी स्थानीय तवरबाट गर्नुपर्ने देखिन्छ ।

कानुनले एक हदसम्म बालविवाहलाई निरुत्साहित गरेको छ । तर प्रेम, भागी, अनौपचारिक विवाह त भइरहेका छन् । विवाह नै नभइकन पनि गर्भवती, गर्भपतन गराउने किशोरीको संख्या झन् बढ्दो छ । यसलाई सामाजिक प्रश्नको रूपमा लिएर कारण पत्ता लगाउने कोसिसमा जुट्नुपर्छ । मेरो विचारमा यस विषयमा दण्ड दिने भन्दा पनि किशोरीलाई सहयोगको खाँचो छ । यो अवस्था आउन नदिन हामीले आफ्नो दायित्व पूरा नगरेको स्पष्ट छ ।

विद्यालय तहमा किशोरीलाई यौनिकताको बारेमा सही सूचनाको अभाव भइरहेको छ । किशोरी समयमा हुने, शारीरिक, मानसिक विकासको बारेमा बुझाउने, सानै उमेरमा यौन सम्पर्क हुँदा हुने असर, सुरक्षित यौन सम्पर्क कसरी गर्ने, आवश्यकता परेमा स्वास्थ्य संस्थामा कसरी सेवा लिने रु यस्ता विषयमा न्यून काम भएको छ ।

सधैं नै किशोरकिशोरीलाई सही परामर्शको खाँचो हुन्छ । उनीहरूले खोजेको सूचना र चाहेको जानकारी हामीले दिनसकेका छैनौं । विद्यालयमा शिक्षकले बुझाउन सकेका छैनन् । घरपरिवार, समाजमा यौनलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । यसका कारणले किशोरकिशोरीले खुलेर घरपरिवारका सदस्य र साथीभाइलाई आफ्ना जिज्ञासाहरू भन्न डराउँछन् ।

कर्णाली, मधेश लगायत प्रदेशका कतिपय ठाउँमा छिट्टै छोरीको विवाह नगर्दा भागेर विवाह हुने हो कि रु यसो हुँदा भोलि कुलको इज्जत जान्छ कि भन्दै प्रतिष्ठा जोगाउने हिसाबले पनि बालविवाह गरिदिने चलन छ ।

बालविवाहको सांस्कृतिक पाटो पनि उत्तिकै बलियो छ । विशेषगरी डोम, मुसहर, चमार समुदायमा १२–१३ वर्ष नपुग्दै विवाह गरिदिने चलन अझैसम्म छ । यसरी समाजको ठूलो हिस्साले नै बालविवाहलाई प्रोत्साहन, संरक्षण गरिरहेको अवस्थामा कानुन मात्रै बनाएर यो रोक्न सकिंदैन । यो अवस्था कायमै रहने हो भने सन् २०३० सम्म प्रतिहजार किशोरीको प्रजनन् दर ३० झार्ने लक्ष्य पूरा गर्न नसकिने प्रष्ट छ ।

समुदायस्तरमा स्वास्थ्य सेवा क्रमशः कमजोर बन्दै गएको छ । पहिला–पहिला समुदायमा काम गर्ने सामुदायिक स्वास्थ्य कार्यकर्ता ९मातृशिशु कार्यकर्ता, ग्रामीण स्वास्थ्य कार्यकर्ता० भन्ने पद नै हुन्थ्यो । उहाँहरूको काम महिनामा २० दिन गाउँघरमा गएर बालबालिकालाई खोप दिने, परिवार नियोजनको साधन बाँड्ने, जीवनजल, भिटामिन ‘ए’ खुवाउने लगायतको कार्यतालिका हुन्थ्यो । अहिले उहाँहरूको बढुवा गरेर अनमी, अहेब बनाइयो ।

त्यसपछि उहाँहरू पनि फिल्डमा जाने नभएर स्वास्थ्य संस्थामा बस्न थाल्नुभयो । अहिले हामीलाई समुदायमा परिचालन हुने स्वास्थ्यकर्मीको अभाव छ । ५२ हजारको हाराहारी महिला स्वयंसेविका हुनुहुन्छ । तर, क्रमशः उहाँहरूको प्रभावकारितामा प्रश्न उठ्दैछ । विशेष गरेर शहरी क्षेत्रमा एकदमै चुनौतीपूर्ण अवस्था छ । शहरी क्षेत्रमा कसैले पनि महिला स्वयंसेविकाको अनुहार देखेको हुँदैन ।

समुदायस्तरसम्म स्वास्थ्यको बारेमा सेवा दिन नसक्दा थप चुनौती थपिएका छन् । किशोर–किशोरी सबैभन्दा बढी समय विद्यालय र साथीहरूसँग बिताउँछन् । किशोरीको समस्या समाधान गर्न विभिन्न प्रयास पनि नभएका होइनन् । तिनले खासै नतिजा दिएनन् ।

जस्तो कि विद्यालयमा ‘साथी शिक्षा’ भनेर ८ देखि १० कक्षाका विद्यार्थीलाई तालिम दिने र त्यसपछि उहाँहरूले अन्य साथीलाई सिकाउने कार्यक्रम गरियो । साथ–साथै जनसंख्या तथा स्वास्थ्य पढाउने शिक्षकलाई पनि तालिम दिइयो । त्यो कार्यक्रमले एक हदसम्म राम्रो नतिजा पनि ल्याएको थियो । तर त्यसलाई दिगो बनाउन सकिएन ।

अहिले विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा छ । तर देशव्यापी रूपमा यो कार्यक्रमलाई अझै विस्तार गर्न सकिएको छैन । स्वास्थ्य संस्थामा पनि किशोर–किशोरी मैत्री सेवा दिने भनेर अभियान पनि सञ्चालन भयो । तर यसलाई पनि राम्रो हिसाबले सञ्चालन गर्न सकिएको छैन ।

अझै पनि किशोर–किशोरीले यौन सेवा लिन जाँदा स्वास्थ्यकर्मीले हेर्ने नजर पनि फरक छ । त्यसैले उनीहरूले नजिकैको स्वास्थ्य संस्थामा सेवा लिन अप्ठ्यारो मान्छन् । देश संघीयतामा गइसकेपछि यस सम्बन्धमा जुन हिसाबले नियमित रूपमा प्रयास हुनुपर्ने हो, हुनसकेको छैन ।

हामीलाई किशोर–किशोरीसम्म पुग्न पहुँचको चुनौती छ । समुदाय स्तरमै सहज रूपमा शिक्षा, सेवा दिने जनशक्ति छैन । यदि छ भने पनि नातागोता, चिनजानको हुने भएकाले उनीहरूले सहज रूपमा परामर्श लिन चाहँदैनन् ।

समुदायस्तरमा किन किशोरी अवस्थामा नै विवाह भइरहेको छ रु उनीहरू किन कम उमेरमै गर्भवती भइरहेका छन् रु भन्ने कारण पत्ता लगाएर स्थानीय सरकारले त्यसमा केही कार्यक्रम ल्याउन जरूरी छ । सांस्कृतिक, आर्थिक, सामाजिक परिवेश फरक–फरक हुनसक्छन् । त्यसलाई मूल्यांकन गर्दै स्थानीय सरकारले प्राथमिकता राख्दै व्यावहारिक रूपमा न्यूनीकरण गर्ने कार्यक्रम ल्याउन जरूरी देखिन्छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा.लालसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित । साभार अनलाईन खबरबाट